काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले 'काइतेन' नामक कला प्रदर्शनी अवलोकन गर्नुभएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पुगेर बिहीबार उपसभामुखले 'काइतेन' कला प्रदर्शनी अवलोकन गर्नुभएको हो । प्रदर्शनीमा नुवाकोटे तामाङ पुर्खाको इतिहास जोडिएको चित्रकला हेरेपछि निकै पीडाबोध भएको उपसभामुख तामाङले बताउनुभयो ।
भित्तामा झुण्ड्याइएका कलाकृति हेर्दै जाँदा जब नुवाकोटका तामाङको पुर्खाकाबारे जानकारी दिने चित्रसामू पुग्नुहुन्थ्यो, उपसभामुख तामाङ आफैं इतिहास कोट्याउन थाल्नुहुन्थ्यो । नेपाली कागजले अनुहार छोपेका तामाङ परिहनमा रहेको चित्र देखाउँदै कलाकार सुवास तामाङले लोक्ताको प्रसंग उप्काउनसाथ उपसभामुख तामाङले भन्नुभयो, 'नुवाकोटमा बारुदखाना थियो रे, त्यहाँ क्षेत्रीले कर्मचारीको रुपमा काम गर्ने, गुरुङ, मगरहरुले काम गर्दा खाजा खान पाउँथे भने तामाङले केही खाना नपाइकन सित्तैमा काम गर्नु पर्थ्यो रे, आज लोक्ता र नेपाली कागजको बारेमा पनि जान्न पाइयो ।' 
ढुंगामा कुँदिएको अक्षरमा लोकसेवाको लागि तयार पारिएको 'सामाजिक अध्ययन' पुस्तकमा तामाङ जातिबारे लेखिएको परिभाषा लेखिएको छ । जहाँ तामाङ जातिलाई बुहारी, छोरी, स्वास्नी बेचेर पैसा कमाउने र दसैं, तिहार, संक्रान्ति पर्व मान्ने समुदायको रुपमा परिभाषित गरिएको छ । त्यसको बारेमा उपसभामुख तामाङले खेद प्रकट गर्दै उक्त पुस्तकका लेखकलाई तथ्यहीन र गलत कुरा सच्याउन आग्रह गर्नुभयो । यस्ता गलत बुझाईहरुलाई सच्याउन र सही पहिचान स्थापित गर्नका निम्ति नयाँ शिराबाट तामाङको इतिहास पुनर्लेखन गर्नुपर्ने उहाँको सुझाव थियो । 
आफूले पाएको शिक्षा प्रणालीमा तामाङको बारेमा जुन खालको अपुरो इतिहास पढाइयो, त्यसले नै आफूलाई तामाङ इतिहास खोज्न प्रेरित गरेको र काइतेनको प्रदर्शनीसम्म आइपुगेको कलाकार सुवास बताउँनुहुन्छ । इतिहासमा तामाङ समुदायले भोगेका पीडा, शोषण र कालो युगलाई कालाकारितामार्फत उजागर गरिएको सुवासले बताउनुभयो । 
काइतेनको अर्थ 'भन्नु' अर्थात कथा पस्कनु हो । ग्यालरीका भित्तामा झुण्डाइएका कलाकृतिले सिंगै तामाङ समुदायको इतिहास र अस्तित्व बोलिरहेका छन् । यसलाई थप प्रस्ट पार्ने काम भने कलाकार सुवास तामाङले गरिरहनु भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८, २२:२०:००