नुवाकोट । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले राष्ट्रिय गौरवको योजना छहरे-टोखा सुरुङमार्ग वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाटै शिलान्यास भएको हेर्न चाहेको बताउनुभएको छ ।
तादी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उपसभामुख तामाङले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को रकम छुट्याइएको उल्लेख गर्नुहुँदै वर्तमान सरकारकै पालामा शिलान्यास हुनुपर्नेमा जोड दिनुभएको हो । 'छहरे-टोखा सुरुङको डिपीआरको लागि रकम छुट्याइएको छ । तपाईंकै कार्यकालमा, तपाईंबाटै शिलान्यास भएको हेर्न, सुन्न पाओस् भन्ने आशा र विश्वास लिएकी छु,' मञ्चमा आसिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो ।
जिल्लाको तादी भेग विकासका पूर्वाधार निर्माणमा पछि परेको भन्नुहुँदै उपसभामुख तामाङले त्यस क्षेत्रको सडक स्तरोन्नितका लागि समेत ध्यान दिइदिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो । 'नुवाकोटको लिखु खोलातर्फ मध्यपहाडी लोकमार्गले गर्दा सबै समस्या विस्तारै हल हुँदै गएको छ,' उहाँले भन्नुभयो, 'तादी खोलातर्फ भौतिक पूर्वाधारको हिसाबले अलि पछाडि परेकोले गंगटे हुँदै गोल्फुभञ्ज्याङ जाने सडकको स्तरोन्नतिका लागि ध्यान दिइदिनु हुन् म यहाँको जनप्रतिनिधिको हिसाबले माग गर्न चाहन्छु ।'
त्यस्तै संविधानने दिएको अधिकार स्थानीय तह, प्रदेशलाई सहज तरिकाले तल लैजानका निम्ति प्रधानमन्त्री देउवालाई सक्रिय भूमिका खेल्नु पर्ने उपसभामुख तामाङको आग्रह थियो । उहाँले आसन्न स्थानीय निर्वाचनमा जिल्लाका १२ स्थानीय तहमध्ये ५ पालिका प्रमुखमा महिला उम्मेदवार बनाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायतको ध्यानाकर्षण पनि गराउनुभयो ।
नुवाकोटमा प्रधानमन्त्रीलाई सांसद तामाङको आग्रह- उपत्यकाको फोहर बिसर्जन आधुनिक तरिकाले गराऔं
नुवाकोट तादीको ४ करोड ३० लाखमा निर्मित प्रशासकीय भवन उद्घाटन