नुवाकोट । प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हितबहादुर तामाङले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन आधुनिक तरिकाले गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले बालाजु-ककनी सडक निर्माण, छहरे-टोखा, स्याफ्रुबेंसी सुरुङमार्गको काम अघि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकृष्ट गराउनुभयो ।
तादी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सोमबार सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री तामाङले नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा उपत्यकाको फोहर बिसर्जन परम्परागत रुपमा भइरहेकोले त्यसलाई व्यवस्थित र आधुनिक तबरले गराउनुपर्नेमा जोड दिनुभयो । 'आज विज्ञान प्रविधिमा अभूतपूर्व विकास भएको छ । तर, काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन परम्परागत ढंगले गर्नु/हुनु उचित विषय होइन । म प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु कि अब आधुनिक तरिकाले फोहर व्यवस्थापन होस् ।'
यस्तै पासाङ ल्हामु मार्गको बालाजु-रानीपौवा र रानीपौवा-पीपलटार खण्डमा आफू र नेकपा (माओवादी केन्द्र) को पहलमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पालामा १ अर्ब ३२ हाराहारीमा बजेट विनियोजन भएकोमा ठेकेदारको लापरबाहीले काम अघि नबढेकोमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको हो ।
रानीपौवा-पीपलटार खण्डको सडक २ वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०१४ जुलाईमा ठेक्का सम्झौता भएकोमा सन् २०२० को जुनसम्म पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि नपुगेकोले आयोजना पक्षको मागअनुसार नेपाल सरकराले २०७७ असार ९ गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द गर्ने कार्यको विरुद्ध निर्माण कम्पनी पक्षले उच्च अदालत पाटनमा रिट निवेदन दिएको र उक्त रिटउपर अहिलेसम्म सुनुवाइ नगरेकोले उक्त सडकको भविष्य अनिश्चित अवस्थामा पुगेको भन्दै सांसद तामाङले रिट निवेदन छिटो सुनुवाइ गराउने कार्यमा सहयोग गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको हो ।
त्यसैगरी बालाजु-रानीपौवा खण्डको निर्माण पनि २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा ८ वर्ष भइसक्दा पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि हुन नसकेको र निर्माण कम्पनीले बनाउने तदारुकता पनि नदेखाएकोले बालाजु रानीपौवा सडक खण्डमा यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल लिइदिन पनि उहाँको जोड थियो । दुवै खण्डका लागि ८ वर्षअघि १ अर्ब ३४ करोड ५९ लाख ६३ हजार ४०४ रुपैयाँ १८ पैसा लागत अनुमान गरिएको थियो । तर ठेक्का सम्झौता भने ८५ करोड ३७ लाख ६८ हजार ५४७ रुपैयाँ ५९ पैसामा भएको थियो । बालाजु-रानीपौवा खण्डको निर्माणका लागि सैलुङ कन्ट्रक्सन कम्पनीले ३४ करोड ९४ करोड ७१ हजार ९५२ (भ्याटसहित) मा निर्माण जिम्मा लिएको छ । लागत स्टमेट भने ५४ करोड २२ लाख ४८ हजार ३८ रुपैयाँ रहेको छ ।
यस्तै रानीपौवा-पीपलटार खण्ड ५० करोड ४२ लाख ९६ हजार ५९५ (भ्याटसहित) दिनेशचन्द्र-नागर्जुन/कोसी एन्ड न्यौपाने कम्पनीले ठेक्का लिएको छ । यो खण्डको लागत अनुमान ८० करोड ३७ लाख १५ हजार ९६५ रुपैयाँ रहेको छ । यी दुवै खण्डका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पालामा माओवादीका तत्कालीन नेता पोष्टबहादुर बोगटी र नेता हितबहादुर तामाङको पहलमा बजेट परेको हो । साथै तीन तहका सरकारहरुले विनियोजन गर्ने विकास आयोजनाका कार्यक्रमहरुको बजेटको सीमा निर्धारण गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । योजना कार्यक्रम संघीय सरकारको भने पनि बजेट थोरै छुट्याउने प्रचलनले गंगटे लब्धु, समुन्द्रटार, गोल्फुभञ्ज्याङ सडक निर्माण कार्यले गति लिन नसकेको पूर्वमन्त्री तामाङको भनाइ थियो । उहाँले संघीय सरकारको विकास आयोजनामा र प्रदेश सरकारको विकास आयोजनामा न्यूनतम कति भन्ने तोकिनु पर्ने माग पनि गर्नुभयो ।
फरक प्रसंगमा सांसद तामाङले संविधान, लोकतन्त्र रक्षार्थ पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्नुहुँदै तीन तहको निर्वाचन मिलेर गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीलाई उपसभामुखले भन्नुभयो- छहरे टोखा सुरुङ तपाईंबाटै शिलान्यास भएको हेर्न पाइयोस्